काठमाडौँ । आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सरकारले टुँडीखेलमा प्रजातन्त्र दिवस समारोह आयोजना गरेको छ । तर सो समारोहमा प्रजा अर्थात् सर्वसाधारणलाई त प्रवेश निषेध नै गरिएको छ, सञ्चारकर्मीलाई समेत समाचार संकलनका लागि प्रवेश दिइएको छैन ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको भए पनि पत्रकारहरुलाई प्रवेश दिइएको छैन । पत्रकारहरुलाई प्रवेश नदिएसँगै पत्रकारहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका छन् ।

सूचना तथा प्रशारण प्रेस कार्ड हुनेहरुलाई पनि प्रवेश नदिएपछि पत्रकारहरुले विरोध जनाएका हुन् । यो कस्तो प्रजातन्त्र दिवस, जहाँ सूचना सम्प्रेषण गर्न समेत दिइएन ?
विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
