घेराबन्दीमा प्रकाश ज्वाला, राजीनामा दिन्छन् कि बर्खास्त हुन्छन् अब ?

काठमाडौँ । ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको थियो । छानबिन प्रतिवेदनपछि मन्त्री ज्वालाले नैतिकता कारण राजीनामा दिने आंकलन गरिएका थिए । तर मन्त्री ज्वालाले राजीनामा नदिएपछि संसदमा समेत यो विषयले प्रवेश पाएको छ ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागीमा प्रकाश ज्वाला ललितपुरको बालकुमारी घटनापछि निकै विवादित बने । गत पुस १३ गते दक्षिण कोरियाको इपीएस परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाइदिएपछि प्रहरीले गोली चलाउँदा दुई युवाहरु दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाह मारिएका थिए ।

प्रदर्शनीस्थलमा मन्त्री ज्वाला सवार झण्डावाल गाडी पुगेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो । घटनापछि सरकारले उच्च अदालतका पूर्व न्यायाधीस शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । पूर्व डीआईजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई आयोगका सदस्य थिए । आयोगले एक महिनाभन्दा बढी समयपछि तयार पारेको प्रतिवेदनमा मन्त्री ज्वालासमेत दोषी पाइएको छ ।

आयोगको प्रतिवदेनपछि नैतिकताका आधारमा मन्त्री ज्वालाले राजीनामा दिने आंकलन गरिए पनि उनले राजीनामा दिएनन् । आयोगको प्रतिवेदनपछि मन्त्री ज्वालाको आयोजना झनै बढेको छ । मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग आइतबारको संसदमा समेत उठेको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरे ।

विपक्षी दलका सांसदहरुले मात्र होइन, ससत्तारुढ दलकै नेताहरुले मन्त्री ज्वालाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । नैतिकका आधारमा मन्त्री ज्वालाले राजीनामा दिनुपर्नेमा नेताहरुको जोड छ ।

नेकपा एमाले लगायतका विपक्षी दलहरुले मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग जोडतोडले उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बालकुमारी घटनाका दोषीलाई कारबाही हुने आश्वासन दिए ।

मन्त्री ज्वाला बालकुमारी घटनाका दोषी दोषी रहेको छानबिन आयोगले भनिसक्दा मन्त्री ज्वालाले राजीनामा दिएका छैनन् । मन्त्री ज्वालाको पार्टी एकीकृत समाजवादीले पनि मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छैन । प्रधानमन्त्री प्रचण्डले आइतबार नै मन्त्रिपरिषद्का बैठक बस्ने भन्दै मन्त्री ज्वालालाई हटाउने संकेत गरेका थिए । तर समाजवादीले मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने निर्णय नगर्दा संसदमै गरेको प्रतिवद्धताका कारण प्रधानमन्त्री प्रचण्डलाई पनि नैतिक संकट उत्पन्न भएको छ । गठबन्धन दललाई नै अप्ठेरो पर्ने गरी मन्त्रीबाटै बर्खास्त गर्ने आँट भने प्रधानमन्त्रीले गर्ने देखिँदैन ।