देउवा–प्रचण्ड ‘डिभोर्स’ : सत्ताको मिलिभगतलाई धर्मको चुनौती

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस चुनावी गठबन्धन गर्ने वा नगर्ने विषयमा लम्बेतान भइरहेको छ । चुनावी गठबन्धन नगर्ने प्रस्तावमा चिढिएका सभापति शेरबहादुर देउवा धर्मनिरपेक्षतामा भने मौन रहेका छन् । धर्मनिरपेक्षतालाई प्रमुख उपलब्धि मान्ने माओवादी केन्द्र देउवाको धर्म राजनीतिप्रतिको मोह सतहमा आउदा पनि के अब कांग्रेससँगको गठबन्धनमा रहिरहन सक्ला ?

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदन कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा थन्किएको छ । देउवाले गगनको चुनावी गठबन्धन नगर्ने विषय र विश्वप्रकाशको कोशी प्रकरण होल्ड गर्न खोज्दा प्रतिवेदन थन्किएको हो । देउवालाई यी दुई विषयले गठबन्धन टुट्ने डर छ । तर, उनले पार्टीभित्र आफू निकटका नेताहरुनै हिन्दु राज्य पुनःस्थापना गर्ने मुद्दामा होम्मिएपनि उनले यसलाई खतराको रुपमा देखेका छैनन् । महाअभियानको घोषणा गरेर अघि बढेका कांग्रेस नेता शंकर भण्डारी पनि देउवाको यसमा सहमति भएको घुमाउरो स्वीकारोक्ति गरिरहेका छन् ।

कांग्रेस भित्रका अहिलेका परिदृष्य हेर्दा कांग्रेस संविधानमा रहेको धर्मनिरपेक्षतालाई स्वीकार गरेरै अघि बढ्ने कि हिन्दु राष्ट्रको मुद्दा बोक्ने भन्ने विषयमा थप अलमलमा छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मको आडमै सत्ताको नेतृत्व गरेको देखेको कांग्रेस नेपालमा हिन्दु बाहुल्यताको सदुपयोग गर्न सकिन्छ कि भन्ने आशामा पनि छ । कट्टर हिन्दुवादी मानिसहरु नै नेपालमा धेरै छैनन् भन्ने बुझेपनि धर्मले मनिसलाई आफूतिर तान्न सकिन्छ भन्ने मनशाय कांग्रेस र शीर्ष नेतृत्वमा देखिन्छ । यहि कारण कांग्रेसमा कहलिएका भनिएका २२ जना नेताहरुले धर्मनिरपेक्षतालाई खारेज गर्ने विषयमा हस्ताक्षर गर्दा कांग्रेसमा सन्नाटा छाएको देखिन्छ ।

धर्मले गठबन्धनमा पर्ने असर

धर्मनिरपेक्षता सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले आफ्नो प्रमुख उपलब्धिको रुपमा ब्याख्या गर्ने विषय हो । धर्मनिरपेक्षताले सबै धर्म र जातिलाई समान रुपले हेर्ने र विभेद नहुने विश्वास पनि छ । तर, धर्मलाई राजनीतिक एजेण्डा नै बनाएर अघि बढ्न खोजिरहेको कांग्रेससँग अबको गठबन्धन कति सहज होला ? त्यो भने बडो रोचक विषय हो । हुनत प्रधानमन्त्री प्रचण्डले सुशासनको जपमा कुनै पनि जोखिम मोल्ने दाबी गर्दै कुर्सी हल्लिने डर नभएको बताइरहेका छन् ।

सुशासनमै यति ठूलो जोखिम मोल्न तयार प्रधानमन्त्री प्रचण्ड संविधानको व्यवस्थाविरोधी कदममा कस्तो महशुस गर्लान् ? यो समेत अबको मूल प्रश्न हो । कांग्रेसमा देउवा निकट नेताहरुले महाअभियान नै घोषणा गरेर वैदिक सनातन धर्मसहितको गणतान्त्रिक राज्य स्थापना गर्ने दाबी गरिरहँदा प्रचण्ड र माओवादी यसमा सहमत बन्न सक्ला ? आगामी दिनमा यो विषयले जवाफ खोज्नेछ । भने, प्रचण्डले संविधानको तीन पिल्लरको रुपमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई नै मानेका छन् । यस्तोमा धर्मनिरपेक्षतामाथि प्रश्न गर्ने कांग्रेससँग बस्ने छुट अब प्रचण्डलाई मिल्ला ? प्रश्न समेत पेचिलो छ ।

गठबन्धन भत्किने सम्भावना र कारण

कांग्रेसमा चुनावी गठबन्धन नगर्ने विषय जोडतोडले उठेको छ । जुन कुरा माओवादी केन्द्रलाई अहिले नै सचेत गराउने विषय बनेको छ । यस्तो जोखिम विषयमा कांग्रेस प्रवेश गरेपछि प्रचण्डले अब राजनीतिक जोडघटाउको हिसाब मिलान गर्न पनि गठबन्धन तोड्ने प्रयासलाई थप तीव्रता दिने देखिन्छ भने, अन्य थुप्रै राजनीतिक विषयका कारण माओवादी केन्द्र पनि गठबन्धनप्रति अरुचीकर बन्ने संकेत फेला परेका छन् ।

के हुन् त गठबन्धन भत्किन सक्ने मुख्य कारण ?

१. कांग्रेसद्वारा कोशीमा श्रृङ्खलाबद्ध धोका
२. कांग्रेसले दिने धोकाबारे माओवादीका हरेक बैठकमा आवाज उठ्नु र माओवादीलाई असर परिरहेको विषय उठिरहनु
३. कांग्रेससँगको गठबन्धनबाट लाभ प्राप्त गर्न नसकेको प्रचण्डको निष्कर्ष
४. विचार नमिल्नेसँग गठबन्धन नगर्ने र शत्रु नै किटान गर्ने विषय माओवादी बैठकमा प्रवेश
५. कांग्रेस विधान महाधिवेशनमा महामन्त्रीद्वयको प्रतिवेदनको तरङ्ग
६. धर्मनिरपेक्षतामा देउवाको लचकता र कांग्रेसभित्र मौलाएको धर्म पक्षधर जनमत
७. गठबन्धनको रक्षा भन्दा पनि सत्ता र शक्ति हत्याउने प्रपञ्चको शुरुवात

यस्ता विविध कारणले कांग्रेस–माओवादी गठबन्धन धेरै लामो समय जान नसक्ने बताउन थालिएको छ । माओवादी केन्द्र पनि राष्ट्रियसभाको चुनावमा गठबन्धनभित्रको सेटलमेन्ट खोज्ने स्थितिमा पुगेको छ । राष्ट्रियसभाको चुनावमा अध्यक्षमा सहजै सहमति जुटिहालेपनि प्रचण्डले धर्मनिरपेक्षताबारे कांग्रेसभित्र देउवा पक्षकै नेताहरुले चालेको कदमलाई लिएर नयाँ बाटो समात्ने तयारी चलिरहेको बुझिएको छ । समाजवादी मोर्चासँगै प्रचण्डले फेरि एमालेसहितको गठबन्धन बनाउन प्रयत्न गर्ने र सफल नभएको खण्डमा नयाँ विकल्पमा जाने गरि तयारी गर्न थालिएको बताइन्छ ।