- संजिव कुमार झा
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । आइतबार सदनमा उपस्थित १०४ सांसद मध्ये उनको पक्षमा ६९ सांसदले मत दिए भने विपक्षमा ३५ मत परे ।
मधेश प्रदेशमा गठबन्धनबाट जनमत पार्टी बाहिरिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि मुख्यमन्त्री सरोज कुमार यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिएका छन् । मधेस प्रदेशमा १ सय ७ जना सांसद छन् । तर, आइतबार बसेको प्रदेश सभाको बैठकमा १०४ जना सांसद उपस्थित भए । उपस्थित सांसदहरु मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ र विपक्षमा ३५ जनाले मतदान गरे । मुख्यमन्त्री यादवको पक्षमा गठबन्धन आवद्ध दल र स्वतन्त्र गरी कुल ६९ जनाले मतदान गरेका हुन् । अघिल्लो पटक सरकार बाहिर रहेर पनि एमालेले उनलाई विश्वासको मत दिएको थियो । तर, यस पटक एमालेले विश्वासको मत दिएन । यद्यपि, सरकारको काम कारवाहीमा सुधार ल्याउनुपर्ने भन्दै राप्रपा नेपाल, नेपाली कांग्रेस, नेकपा एस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र लोसपाले मतदान गरेका छन् ।
तर सरकारको काम कारवाही र मधेश प्रदेश सरकारले जनताको आकांक्षा अनुसार काम गर्न नसकेको भन्दै जनमत पार्टीले अविश्वास प्रकट गर्यो ।
मधेश प्रदेशमा १ सय ७ जना सांसद रहेका छन् । सरकारका लागि ५४ जना सांसदको समर्थन चाहिएको थियो । प्रदेश सभाको गणित अनुसार सत्ता गठबन्धनमा ६५ जना भन्दा बढी सांसद छन् । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिने प्रदेश सभामा मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिने चलन छ । सरकार अल्पमतमा नपरेसम्म विश्वासको मत लिनुपर्ने बाध्यात्मक कानुन नरहेको सांसदहरु बताउँछन् । त्यसअघि एमालेले सरकारबाट अलग्गिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए । तर त्यस बखत पनि सबै दलले सरकारको पक्षमा मतदान गरेका थिए