काठमाडौँ । सामाजिक सञ्जालमा सधैं चर्चामा रहिरहने नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको विषयले अहिले तरङ्ग उत्पन्न गराएको छ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध करोडौं रुपैयाँ विगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो । के छ त मुद्दाको पूर्ण विवरण ? सामाजिक सञ्जालबाटै भ्रष्टाचार विरोधि अभियान चलाइ रहेका भीम उपाध्यायले भ्रष्टाचार गरेकै हुन् त ? उनी पनि भ्रष्ट हुन् भने कुन समयमा कसरी गरे त भ्रष्टाचार ?
सामाजिक सञ्जालमार्फत नै भ्रष्टाचार विरुद्ध खरो आवाज उठाउदै आएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय माथि नै भ्रष्टाचार गरेको आरोप लागेपछि सामाजिक सञ्जालहरुमा त्यसले तरंग मच्चाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर ग¥यो । ७ अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्षहरू, समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाता तथा निर्माण कम्पनीलाई प्रतिवादी बनाइएको छ ।
मुद्दामा को–को छन् प्रतिवादी ?
– पूर्वसचिव भीम उपाध्याय
– पूर्वसचिव सञ्जय शर्मा
– पूर्वसचिव गजेन्द्र ठाकुर
– अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङ
– परामर्शदाता तथा निर्माण कम्पनी
भ्रष्टाचार गरेको दाबी गर्ने आधारहरु
– आयोजनामा निर्माण व्यवसायीसँग काम नै नगरी भुक्तानी दिएको
– पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेशिन तथा अन्य सामग्रीको भाडाबापतको रकम कट्टा नगरी भुक्तान गरेकोलगायतका गुनासोउपर उजुरी
अभियोगपत्रमा के छ ?
– ठेकेदारसँगको मिलेमतोमा एसियाली विकास बैंकबाट ऋणमा लिएको रकम सम्झौताविपरीत तथा कानूनले तोकेभन्दा बढी २० प्रतिशत दुई किस्तामा अतिरिक्त मोबिलाईजेसन पेश्कीबापत भुक्तानी गरिएको
– सरकारी सम्पत्ति हानी नोक्सानी गरी निर्माण व्यवसायीलाई लाभ गराएको
– पेश्की फर्च्छयौट नहुँदै निर्माण व्यवसायीको जमानतको व्याज असुल नगरेको
कोविरुद्ध बिगो दाबी कति ?
– खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्ष सञ्जय शर्मा र मुकुन्दप्रसाद पौडेलसँग जनही रु. ६ करोड ९७ लाख ८३ हजार १७८
– तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसँग रु. ४ करोड ११ लाख ३४ हजार २७९
– तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरसँग रु. ६० करोड ४९ लाख १९ हजार ८८४
– हालका अध्यागमन विभाग प्रमुख रुद्रसिंह तामाङसँग रु. ११ करोड ९ लाख १७ हजार ४५८
भ्रष्टाचारसम्बन्धि यो मुद्दा दर्तासँगै विशेष चर्चा र चासोमा छन् पूर्व सचिव भीम उपाध्याय । यो मुद्दामा उनी किन यति चर्चामा छन् त ?
के छ पूर्वसचिव भीम उपाध्यायको विगत र वर्तमान ?
लामो र सेतो दारी, मुसुक्क मुस्काएको फोटो, भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्ने, गाँजालाई वैधानिकता दिएर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने सुनौला योजना पेश गर्दै सामाजिक सञ्जालमा वाहवाही बटुल्ने गरेका पूर्वसचिव भीम उपाध्याय पनि भ्रष्टाचार आरोपी बनेका छन् । झट्ट सुन्दा पत्याउन नसकिने किसिमको घटना अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपले उपाध्यायको यस्तो छवीमा एकाएक कालो बादल मडारिन पुगेको हो ।
सामाजिक सञ्जालमार्फत विभिन्न फण्डा सिर्जना गरिरहने ’भाइरल’ उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गाँजालाई वैधानिकता दिनुपर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्ने लगायतका विषयलाई सामाजिक सञ्जालमा छरपष्ट पारेर जनमत बटुल्ने काम गरिरहेका उनी विवादमा आइरहन्छन् । सामाजिक सञ्जालमा विभिन्न पोस्ट गरेर प्रभाव जमाउने उपाध्याय भ्रष्टाचारविरोधी छवीबाट भ्रष्टाचारको ढाकछेप गर्न खोजिएको त थिएन ? प्रश्न उठेको छ । करोडौं भ्रष्टाचार गरेको आरोप लागेका उपाध्यायले सार्वजनिक गर्ने विवरण कतै आफूविरुद्धको प्रहारलाई रोक्न चालिएका सचेत कदम त थिएनन ? सर्वसाधारणले सोध्न थालेका छन् ।
अख्तियारले मेलम्ची खानेपानी परियोजनामा भुक्तानीदेखि विभिन्न प्रक्रियामा उपाध्यायले पदको दुरुपयोग गरेकोदेखि अकुत सम्पत्ति आर्जन गरेको समेत दाबी गरेको छ । उपाध्यायले अब यसपोछि के गर्लान ? उनी भ्रष्टाचारी ठहर होलान वा सफाई पाउलान ? त्यो भने अदालतको फैसला कुर्नुपर्नेछ । तर, अहिले उनी भ्रष्टाचारीको सूचीमा भने परेका छन् ।